एनसेलले पुरानो बिल देखाएर भन्सार छल्यो, ५५ लाख जरीवाना

स्पाइस नेपाल प्रालि अर्थात एनसेलका नाममा मोबाइल सेवा चलाइरहेको नीजि क्षेत्रको दूरसञ्चार कम्पनीले पुरानो कम मुल्यको बिल देखाएर भन्सार छलेको प्रमाण दूरसञ्चारले पत्ता लगाएको छ। गुणस्तरीय र ग्राहकमुखी सेवा दिने कम्पनी भनेर नथाक्ने एनसेलले पुरानो बिल देखाएर सात लाख २१ हजार डलरको कर तिर्नुपर्नेमा १ लाख ६८ हजार तिरेको भेटिएको छ। पुरानो बिल देखाएर एनसेलले ५ लाख ५२ हजार ७ सय १० डलरमा लाग्ने बराबरको कर छलेको हो। २०६६ सालमा सामान ल्याउँदा आफैले छलेको करको विषयमा एनसेलले दुई वर्षअनावश्यक विवाद गरेर राज्यलाई छलेको हो। उसको भन्सार छली पत्ता लागेपछि त्रिभूवन विमानस्थल भन्सार कार्यालले त्यसका लागि एनसेललाई २०० प्रतिशत जरिवाना गरेर ५५ लाख भन्दा बढी रकम असुल गरेको छ। एनसेलले आफूले गरेको भन्सार छलि र त्यसबापतको जरिवानाबाट बच्नका लागि राजश्व न्यायाधिकरणमा पुनरावेदन गरेको थियो। जसमा दुई वर्षपछि २०६८ फागुन १८ मा एनसेलले भन्सार छलेको प्रमाणित गर्दै न्यायाधिकरणले भन्सार कार्यालयले गरेको निर्णयमा मोहर लगाएको हो।

एनसेलले प्रज्ञापन पत्र नम्बर २९८१९ मा मिति २०६६ साल असार ३ गते बिल नम्बर ७२०८४०९७७८ को मुल्य ७ लाख २१ हजार ५ सय ४३ डलरको सामान ल्याएको कर तिर्नुपर्नेमा पहिले नै कर तिरेको बिल नम्बर ७२०८३१९०६८ देखाएर १ लाख ६८ हजार आठसय ३२ डलरको बिल देखाएर कर छलेको हो। यसरी एनसेलले ५ लाख ५२ हजार ७ सय १० डलरको कर छलेको हो।

भएको के थियो?

एनसेलले इरिक्सन एबी स्वेडनबाट मोबाइल टेलिकम इक्वीपमेन्ट समेत आयात गरेको बिल नम्बर ७२०८३१९०६८ देखाएर १ लाख ६८ हजार आठसय ३२ डलर बराबरको कर त्रिभूवन विमानस्थल भन्सार कार्यालयबाट कर तिरेर २०६६ जेठ १७ मा सामान छुटाएको थियो। त्यही बिल फेरी २०६६ साल असार ३ गते बिल नम्बर ७२०८४०९७७८ को मुल्य ७ लाख २१ हजार ५ सय ४३ डलरको सामान छुटाउनका लागि प्रयोग गरेको थियो। जसबाट एनसेलले ५ लाख ५२ हजार ७ सय १० डलरको कर नतिरेको देखिएको थियो।

के भन्छ एनसेल?

भन्सार छलेको पत्ता लागेपछि भन्सार कार्यालयले २०० प्रतिशत जरिवाना लगायो। त्यसबापतको रकम ५ लाख ५२ हजार ७ सय १० डलर र ६२ सेन्ट एनसेलले २०६६ असार १७ गते नबिल बैंकमा बुझायो। त्यसपछि एनसेलले मानवीय भुलवस एउटा बिल पेस हुनुपर्नेमा अर्को पुरानो तिरीसकेको कम रकमको बिल लगेर कम घोषणा भएको भन्दै पुनरावेदनमा गयो। रावश्व न्यायाधिकरणले २०६८ फागुन १८ गते त्रिभूवन विमानस्थल भन्सार कार्यालयले गरेको निर्णय नै सही रहेको फैसला दियो।